काठमाडौं। सरकारले बजेटको आकार संशोधन गरेको छ।
आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाइएको जानकारी दिए। यो कुल बजेटको १४ प्रतिशत हो।
तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ।
पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेका छन्। त्यस्तै पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ। वित्तीय व्यवस्थामा २ खर्ब ३० २१ करोड रुपैयाँ छुट्याइएकोमा २ खर्ब १४ करोड मात्र छुट्याइएको छ।
पौडेलले चालु आर्थिक वर्ष २०७९÷०८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत नपुग्ने र राजश्व पनि लक्ष्यभन्दा २४.८ प्रतिशतले कम संकलन भएको जानकारी दिए।
अर्थमन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य पनि घटाएका छन्। गत जेठ १५ मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो। तर घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान गरिएको छ।