काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको चार कारोबारमा नेप्से परिसूचक ११२.२२ अङ्क घटेको छ।
बिहीबार नेप्से परिसूचक २१.१५ अङ्क घटेर २०७०.४१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अङ्कले घटेको छ।
आज कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता शेयर एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा आज नेप्से कारोबार रकम पनि गिरावट आएको छ। बुधवार एक अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो।
आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
त्यस्तै, नेप्से परिसूचकमा गिरावट आए पनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ। त्यस्तै,राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ५.२३ प्रतिशत बढेको छ।
तर, यता युनिलिभर नेपालको शेयर मूल्य ५.९१ प्रतिशत घटेको छ। आजको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको पाँच करोड ३८ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ।