एन्टाक्या। टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ।
दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ। भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो।
सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।
टर्कीका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका २१३ जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन्।
सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन्। रासस/एएफपी