काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारी दर्ता हुँदै छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारीका लागि मनोनयनको समय निर्धारण गरिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची शनिबार ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने यकिन हुन बाँकी छ ।
कांग्रेस र एमालेले उम्मेदवार उठाउने सम्भावना छ । सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठदलीय गठबन्धन बनेको छ ।
प्रचण्ड १० पुसमा एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताइएको थियो । तर, अहिले एमालेलाई एक्ल्याउँदै आठ दल एक ठाउँ उभिएका छन् । कांग्रेस उम्मेदवारले राष्ट्रपतिमा जित हात पार्ने निश्चित जस्तै छ ।