काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको निवेदनको मुद्दाको बन्द इजलासमा सुरुवाइ सुरु भएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा सन्दीपको मुद्दामा बन्द इजलासमा सुरुवाइ सुरु भएको हो। इजलासमा सरकारी र सन्दीप पक्षका वकिल मात्र सहभागी छन् ।
लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
यसअघि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।
अदालतले महान्यायाधिवक्ता कार्यालय र बलात्कार आरोप लागेका लामिछानेको निवेदन आज एकैसाथ राखेर सुनुवाइ गरेको हो। सर्वोच्चले यी दुवैलाई अग्राधिकारमा राखेर सुनुवाइ गरिरहेको हो।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित छ। सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ। आज उक्त मुद्दाको अन्तिम फैसला हुने सम्भावना छ।
नेपाली क्रिकेट टोली युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका लागि शनिबार युएई गइसकेको छ। तर, सन्दीप जान पाएनन्।
बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई विदेश जान नपाउने उच्च अदालत पाटनले शर्त राखेको छ।
मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।