काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १९ गते शुक्रबार कतार जाने भएका छन्।
अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलन भाग लिन प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने भएका हुन्। उनको यो पहिलो विदेश भ्रमण हो।
फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्। सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री प्रचण्डले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्त सेवा लम्सालले जानकारी दिइन्।
एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ।
सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुनेछन् सो अवसरमा प्रधानमन्त्री प्रचण्ड साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुनेछन्।
दोहामा रहँदा प्रधानमन्त्री उनी नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन्।
उनीसँगै परराष्ट्रमन्त्री बिमला राई पौड्यालपनि कतार जाने बताइएको छ। उनी फागुन २२ गतेपछि नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।