काठमाडौँ । आजबाट एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका हुन् । सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका छन् ।
दुवै चलचित्रले राम्रो शो पाएका छन् । शुक्रबार बिहानसम्म क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ६६ शो पाएको छ । जसमध्ये केही शोको बुकिङ फिलिङ फाष्टमा गएका छन् । बुकिङ खुलाउँदा मंगलबार यसले ५३ शो पाएको थियो ।
‘छड्के–२’ लाई ३८ शो दिइएको छ । मंगलबार बिहान यसलाई ३९ शो प्रदान गरिएको थियो । यो चलचित्रमा भने कुनै पनि हलमा कुनै पनि शोको बुकिङमा फिलिङ फास्ट देखिएको छैन । क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ ले ‘छड्के–२’ भन्दा ३८ शो बढी पाएको छ ।
यी दुवै राम्रो सम्भावना बोकेका चलचित्र हुन् । ‘छक्का पञ्जा–४’ लाई यो पटक हेमराज बिसीले निर्देशन गरेका छन् । ‘छड्के–२’ निगम श्रेष्ठ निर्देशित सिनेमा हो ।
‘छक्का पञ्जा–४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा छन् । ‘छड्के–२’मा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाललगायत कलाकारले अभिनय गरेका छन् ।