काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाललाई भेट्न पौडेल उनकै निवास डल्लु पुगेका थिए।उनीहरूबीच भेटवार्ताका क्रममा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा कुराकानी भएको पौडेलको सचिवालयले जानकारी दिएको छ।
८ दलको समर्थनमा गत फागुन १३ गते पौडेल राष्ट्रपति उम्मेदवार बनेका थिए।यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्। दुवै उम्मेदवारले भेटवार्ता र अन्तर्क्रियालाई केही दिनदेखि तीव्रता दिइरहेका छन्।