काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धाराका राजनीतिक दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा माओवादी धाराका दलहरूका नेता जम्मा भएका हुन् ।
बैठकमा प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेपाल वैज्ञानिक कम्युनिस्ट समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल(आहुति), माओवादी नेता कर्णजित बुढाथोकी र नेकपा बहुमतका हेमन्तप्रकाश वलीलगायतका नेता सहभागी रहेका छन् ।
प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादीहरूबीच छलफल सुरु भएको हो । यसअघि आइतबार माओवादी नेताहरू एउटा कार्यक्रममा एकै ठाउँमा जम्मा भएका थिए ।