काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको आज सुनुवाइ हुँदैछ।
गत मंगलबार प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन आदेशको माग गर्दै रिट दर्ता गरिएको हो। द्वन्द्वपीडितका तर्फबाट अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दुईवटा रिट दायर गरेका छन्।
माघी पर्वका अवसरमा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। दाहालको यही सार्वजनिक अभिव्यक्तिका विरुद्धमा रिट परेको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले दाहालले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।
प्रचण्डको यही अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा अलगअलग रिट दायर गरेका थिए। अधिवक्ताद्वयको रिटलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ गते दरपिठ गरिदिएको थियो।
दरपिठविरुद्ध अधिवक्ताद्वय आरण र बुढाथोकीले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले गएको शुक्रबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो।
अधिवक्ताद्वयले सर्वोच्चको इजलासमा दिएको निवेदनमा माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।