काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन अन्तर्गत आज उमेदवारले नामा फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिने र २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
यसअघि हिजो उमेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उमेदवारी दर्ता भएको थियो ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उमेदवार बन्न पाउने छन् ।
स्ववियु निर्वाचन अन्तर्गत मतदान चैत ५ गते हुँदै छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ ।