चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताएका छन् ।
चितवनको भरतपुरमा रहेको विमानस्थल विस्तार एवम् नयाँ बन्ने अत्याधुनिक टर्मिनल भवनको बिहीबार बिहान शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।
भरतपुरमा रहेको सेनाको ब्यारेक भरतपुर-१ मा रहेको नेपाल ट्रष्टको नाममा रहेको दियालो बङ्गला क्षेत्रमा र घोडा फार्मलाई भरतपुर ११ गणेशस्थान क्षेत्रमा स्थानान्तरण गरी विमानस्थललाई विस्तार गर्न लागिएको हो ।
लामो समयको प्रयास, छलफल र प्रतीक्षापछि विमानस्थल विस्तारको काममा सहमति भएको बताउँदै प्रधानमन्त्रीले यो कामलाई सार्थकतामा परिणत गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।विमानस्थलमा नयाँ बन्ने टर्मिनल भवनको लागि भ्याट बाहेक एक अर्ब २८ करोड रुपियाँमा ३६ महिनामा सम्पन्न गरी चैत ६ गते केसीश्यामदेवी–प्रतिष्ठा जेभीसँग सम्झौता भएको छ ।
उक्त अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुजन किरातीले सेनाको ब्यारेक र घोडा फार्म स्थानान्तरण गर्ने निर्णय भइसकेको र कार्यान्वयनको काम मात्र बाँकी रहेको बताए ।