कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार फेरि विश्वासको मत लिँदैछन् । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पुस १० गते एमालेसहितको गठबन्धन बन्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जनाको सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन्। तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु परेको हो ।
कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् । प्रदेशसभा बैठक शुक्रबार दिउँसो ३ बजे बस्दैछ ।