काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् ।
शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ ।’’ उनले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे ।
प्रधानमन्त्रीले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए । उनले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको जानकारी दिए ।