काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन् ।
मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताए । “हामीले आत्मविश्वास बढाउनुपर्नेछ । अहिलेको निराशालाई आशामा बदल्नु छ । त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ । नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ । हामी गर्न सक्छौँ (वी क्यान डु इट) भन्ने भावनाले काम गरौँ ।”, अर्थमन्त्री महतले भने । सकारात्मक आत्मविस्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका सङ्केत देखिने उनको विश्वास छ ।
लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्नुहुँदै उनले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताए।
“अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो । हामीले नतिजामा आधारित भएर काम गरौँ । हाम्रो मूल्याङ्कन पनि त्यसरी नै हुन्छ । अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ ।”, अर्थमन्त्री महतले भने । अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउनुहुँदै उहाँले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्ने बताए ।
कार्यभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले सकारात्मक ऊर्जाका साथ नतिजामुखी काममा लाग्न बताए । “अर्थतन्त्र सुधारका लागि म एक्लैले मात्र केही गर्नसक्ने होइन । सबै निकायको भूमिका उत्तिकै जिम्मेवार छ । हामी सम्पूर्ण शक्ति लगाउँछौँ । सबैको साथ चाहिन्छ,” उनले भने ।