काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने प्रधानमन्त्रीको भनाइ छ ।
अब सरकारको ध्यान पूर्ण रूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै उनले जनताले राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ ।
उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ । आजभोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ। हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने खतरा छ । यसमा म गम्भीर छु ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रतिबद्धता जाहेर गरे ।