काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’ २०७९ का सम्बन्धमा नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान)ले आपत्ति जनाएको छ । ईक्यानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ४ वटा असहमति जनाएको हो ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ मार्फत नो अब्जेक्शन लेटर जारी गर्ने सन्दर्भमा गरिएको व्यवस्था प्रति (ईक्यान) को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ,‘ उक्त निर्देशिका समकालीन विश्व परिवेशमा स्थापित शैक्षिक प्रणाली तथा मापदण्ड अनुकूल नरहेको, नेपाली विद्यार्थी तथा अभिभावकहरूको हितको विषयलाई बेवास्ता गर्दै वैदेशिक शिक्षा प्रणालीका विषयमा ज्यादै न्यून जानकारीका आधारमा विदेशमा शिक्षा आर्जन गरेपछि नेपालमा त्यस्ता विद्यार्थीहरूबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट आप्रवाह हुने विप्रेषणको लेखाजोखा नै नगरी केवल विदेशी शिक्षाको नाममा विदेशी मुद्रा बाहिरिने विषयलाई मात्र जोड दिएर गरिएको अदूरदर्शी व्यवस्थापन भएको हुँदा यस विषयमा नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) को आपत्ति रहेको छ ।’
यस्तै ईक्यानले सो विषयका सन्दर्भमा अवलम्बन गरिने नीतिगत व्यवस्थापनमा शिक्षा मन्त्रालयले कसैको राय सल्लाह तथा सुझावको आवश्यकता महसुससम्म नगर्नु ज्यादै दुःखद विषय भएको बताएको छ ।