काठमाडौँ । पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक रहेको पनि मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यस्तै काठमाडौँ उपत्यकामा रहेका सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।