काठमाडौँ । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरु बढिरहेका छन् ।
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।
तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले बताए ।
उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताए । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए ।
कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।
‘‘पछिल्लो समय कोरोना संक्रमित बढिरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औषतमा झन्डै एक सयको हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ । कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ ।
जुन नेपालमा नौ वटा सबभेरियन्टहरु अहिले छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ । एक्सबीबी १.१६ मुख्य मानिएको छ, कोरोना फैल्याउन । नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ ।’’ उनले जोड दिएर भने, ‘‘भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो । यो संक्रामक छ । तर संक्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सबभेरियन्ट भएकाले तुलनात्मक रुपमा डेल्टा त्यो भन्दा अघिको लहरमा देखिएको भेरियन्ट भन्दा कम घातक मान्ने गरिन्छ ।
आइसीयुमा जानुभएका र मृत्यु भएकाहरु ज्येष्ठ नागरिक र दीर्घरागीहरु हुनुहुन्छ । त्यसैले खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ । यो ठूलो घातक नमानिए पनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरुरी छ । शतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ ।’’
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए। उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।