काठमाडौँ । अब एनओसी पुरानै तरिकाले दिइने भएको छ । एक शैक्षिक परामर्शदाता राइटकादका सञ्चालक फिलिप डि.सी.का अनुसार विभिन्न निकायहरूमा गएको र पछिल्लो समय शिक्षा मन्त्रालय र सचिवलाई भेटी प्रधानमन्त्रीको ठाडो आदेशमा एनओसी पुरानै तरिकाले गर्ने निर्णय गराउनको लागि र यसलाई प्रमाणीकरण गर्ने र पुरानै तरिकाले दिने गरी परिवर्तन गरिन लागेको जनाएको छ ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तहपछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन बन्द गरिएको थियो ।
यसअघि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष)गर्न जानेलाई पनि एनओसी दिँदै आएको थियो । अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान पाउने छैनन्।
सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको हो ।सरकारले फागुन १८ गते निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा कडाइ गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयसमेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। पहिलो पटक ल्याइएको यस्तो निर्देशिका गत चैत १९ गतेदेखि लागु भइसकेको छ।निर्देशिकाअनुसार विदेशमा उच्च शिक्षा पढ्ने प्रयोजनका मात्रै विद्यार्थीले अनुमति पाउनेछन्।
यसअघि विद्यार्थीले एनओसी लिन अनलाइनबाट आवेदन दिन र राजश्व तिर्न पाउँथे। विद्यार्थीले पेश गर्ने कागजात रूजु गर्नेदेखि घरमै बसेर अनलाइनबाटै एनओसी प्रिन्ट गर्न सकिने सुविधा दिने गरी निर्देशिका ल्याइएको छ।
भाषा कोर्स र तालिम तथा डिप्लोमा पढ्न विदेश जान नदिने गरी सरकारले निर्देशिका ल्याएपछि कन्सल्टेन्सीहरूले भने असन्तुष्टि जनाएका छन्।
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन
यता नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
मंगलबार उनीहरुले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् ।