काठमाडौँ । सुदूरपश्चिमबाट सहभागी न्याथन रायन कवितामा आधारित रियालिटी शो 'द पोइट आइडल' को फाइनलमा छन् । यही वैशाख ८ गते उक्त कार्यक्रमको फाइनल प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा ४ जनाबीचमा हुँदै छ ।
त्यसमध्ये दुई जना नेपाली छन् भने अन्य एक जना दार्जिलिङ र अर्का सिक्किमबाट छन् । फाइनल प्रतिस्पर्धामा चारै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चारै जना अब्बल कविका बीचमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्याथनको भने जित्ने सम्भावना प्रबल हुँदै गएको छ ।
उनले उक्त मञ्चको हरेक एपिसोडमा फरक फरक प्रयोग गरेका छन् । जसलाई सामाजिक सञ्जालमा निकै धेरैले रुचाएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका न्याथनले कविताको परम्परागत वाचन शैलीमा नै आमूल परिवर्तन ल्याउने प्रयत्न गरेका छन्। उनले कविता वाचन गर्दा छुट्टै खाले ध्वनि निस्किन्छ । उनको कम्पनपूर्ण आवाज बेग्लै सुनिन्छ ।
जुन शैली यसअघि प्रयोग गरिएको थिएन । न्याथन अहिले भोट अपिलका लागि समर्थकमाझ छन् । यस्तै उनी एक पटक बोटम जोनमा मात्र परेका थिए । त्यसपछि भने उनको भोट निरन्तर उकालो लागेको छ । साथै सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाका कारण पनि उनको जीत सहज हुँदै गएको देखिन्छ । पछिल्लो समय भोट अपिलिङका लागि दौडधुप गरिरहेका न्याथन आफूले आइडलको टाइटल जित्नेमा विश्वस्त रहेको बताउँछन् । साथै उनले आफ्ना समर्थक तथा सहृदयीहरूमा भोटिङका लागि आग्रह गरेका छन् ।
को हुन् न्याथन ?
उनको स्नातकसम्मको पढाइ कञ्चनपुरमै बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन् । महेन्द्रनगरबाट उनी काठमाडौँ आए । कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् । मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् ।
पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ । सन् २०१९–२० का लागि अमेरिकी दूतावास यूथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताउँछन् ।