काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागको छ । तर, उपचुनावमा आफै उमेदवार रहेका केही व्यक्तिले भने मतदान गर्न पाउने छैनन् ।
ती उमेदवारले आफू उमेदवार रहेको अथवा उपनिर्वाचन हुन लागेको क्षेत्रमा मतदाता नामावली नभएकाले मतदान गर्न नपाएका हुन् ।
चितवन–२ का उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता नामावलीमा काठमाडौंमा भएकाले उनले आफूलाई मत दिन पाउने छैनन् । यस्तै, सोही क्षेत्रमा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेको पनि मतदाता नामावली चितवन–३ मा भएकाले मत दिन पाउँदैनन् ।
यता, तनहुँ–१ मा रास्वपाका उमेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली चितवनमा छ । एमाले उमेदवार सर्वेन्द्र खनालको काठमाडौंमा छ ।
बारा–२ मा सत्ता गठबन्धनका उमेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ मा मतदाता नामावली छ । रास्वपाका उमेदवार रमेश खरेल काठमाडौका मतदाता हुन् ।