चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान साढे ११ बजेदेखि मतदान स्थगित भएको हो ।
यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए ।
नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए।
यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको मङ्सिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपचुनाव हुन लागेको हो ।