बारा । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं २ मा आइतबार भएको मतदानको गणना सोमबार बिहान ११ बजेदेखि गरिने भएको छ । मतपेटिका संकलन गरिसकेपछि बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरिएको हो ।
हाल उम्मेदवारहरूको प्रतिनिधिका लागि परिचयपत्र बनाउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । सोमबार बिहानदेखि नै गणनास्थलमा नेता कार्यकर्ताको आवतजावत बढेको छ । साथै गणनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बारा २ मा यस उपनिर्वाचनमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गणनाको क्रममा प्रत्येक उम्मेदवारको तर्फबाट एकरएक जना प्रतिनिधि राख्ने सहमति भएको छ ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख चौधरीका अनुसार पचरौता र महागढीमाई नगरपालिका, करैयामाई, देवताल र सुवर्ण गाउँपालिका गरी ५ पालिकाको १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा त्यसको ६५ प्रतिशत अर्थात ६८ हजार ८ सय ८६ मत खसेको छ । गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।