काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।
सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए ।
कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि बोलाएको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनबारे धारणा राखेका थिए ।
चितवन २, तनहुँ २ र बारा २ मा आइतबार निर्वाचन भएको थियो । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राख्ने क्रममा देउवाले उपनिर्वाचनबारे टिप्पणी गरेका हुन् । कांग्रेस संसदीय दलको बैठक मंगलबार १० बजे पुनः बस्ने भएको छ ।