काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्नमिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए । उनले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताए ।
सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए । मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।