लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् । चौधरीले ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिहीवार दाबी पेश गरेका हुन् ।
चौधरीलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमत पार्टीका २, नेकपा एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ५३ सांसदको समर्थन रहेको छ ।चौधरी दाङ– ३ (१) बाट निर्वाचित सांसद हुन् ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ । चौधरीलाई प्रदेशसभाका १० मध्ये ८ दल र १ स्वतन्त्र सांसदको समर्थन रहेको छ । एमाले नेता लीला गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर वैशाख ११ गते ढलेसँग मंगलवार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि बिहीवार ४ बजेसम्मको समयसीमा दिएका थिए ।