मोरङ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।
उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि पारदर्शी भएर काम गर्न निर्देशन दिएका हुन् । मन्त्री डा. महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने पनि स्पष्ट गरे ।
उनले भने, ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ।’ उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।