काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालद्वारा संयुक्तरूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले नागरिकले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए । नागरिकको विश्वासमाथि सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘रवि लामिछानेजीलाई उहाँले छानेको मन्त्रालय दिएर लैजाऔँ । नागरिकको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ?’
मन्त्री किरातीले नागरिकले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए । उनले नेपालीहरू कोही पनि एकअर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए । देश आर्थिक सङ्कटमा रहेकाले कुनै पनि पार्टीलाई प्रतिपक्षमा नबस्न उनको आग्रह छ ।