काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा चलिरहेको आन्दोलनमा ऐक्यबद्धता गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ ।
आविष्कारको क्षेत्रलाई उकास्न सरकार गम्भीर हुनुपर्ने माग राख्दै पुनले थालेका आन्दोलनमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले साथ दिएका छन् । यसैबिच डा. गोविन्द केसी र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले ऐक्यबद्धता जनाएका छन्।
यसअघि चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनसन बसेका केसी आइतबार पुनको धर्नामा साथ दिन माइतीघर पुगेका हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजै पुनको आन्दोलनमा सहभागी भएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि हरेक वर्ष बजेट छुटाउनुपर्ने माग गर्दै धर्ना थालिएको हो । हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत आन्दोलनमा सहभागी भएका छन् ।