लुम्बिनी । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ ।
मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे नै पत्र दर्ता गराएको र मंगलबारका लागि विश्वासको मत लिने तयारी गरिरहेको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने गरी मंगलबार ११ बजे प्रदेशसभाको बैठक बोलाइएको बताए ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार मुख्यमन्त्री चौधरी र अन्य तीन विनाविभागीय मन्त्रीले शपथ लिएका थिए । मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि नियुक्त मन्त्रीको जिम्मेवारी र अन्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी मुख्यमन्त्री चौधरीको छ । शुक्रबार नै मन्त्री बनेका माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।