काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो ।
सो बम विस्फोट कसले गराएको हो रु भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन सुरु गर्यो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सातजना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो ।
त्यसको चार वर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरुको संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदूर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको जिकिर गरेका हुन्।
उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख गरेका छन् ।