काठमाडौँ । सत्ता गठबन्धनले बुधबार समसामयिक विषयमा छलफल गर्ने तय भएको छ। सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल गर्दैछ।
गठबन्धनको बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेकाले बुधबारको बैठकमा यो विषयमा पनि छलफल हुनेछ।
प्रधानमन्त्रीको सकारात्मक जवाफ पाएको रास्वपाले गठबन्धनको निर्णय पर्खिएको छ। समर्थन गरेर मात्रै नबस्ने भन्दै रास्वपाले शुक्रबार बैठक बसेर सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे निर्णय गर्ने बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै सरकारलाई पूर्णता दिन सकेका छैनन्। कांग्रेसले आफ्नो भागमा परेका तीन मन्त्री र जसपाले पनि एकजनाको नाम दिन बाँकी छ।