काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्नमध्ये बुधबारसम्म १२ जना पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार मात्रै प्रहरीले खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई राजधानीबाट पक्राउ गरेको हो ।
यो प्रकरणमा यसअघि नै पूर्वगृहसचिव टेकनारायण पाण्डे र इन्द्रजित राईका साथसाथै रामशरण केसी, गोविन्द चौधरी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।
शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी अझै फरार छन् । उनीविरुद्ध एक साताअघि नै पक्राउ पुर्जी जारी भएपनि अझै फरार रहेका हुन् । एमालेले फरार रहँदै आएका रायमाझीलाई निलम्बन गरिसकेको छ ।