काठमाडौं । नेपालले टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको हो ।
नेपाललाई एसिया क्षेत्रको टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आइसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए । एसियाको छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । उनका अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
हालै सम्पन्न एसीसी प्रिमियर कप मुलपानी क्रिकेट मैदानमा पहिलो एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल भएको थियो ।