काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् ।
बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका हुन् । नेपालीलाई सुख र नेपालको विकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उनले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे ।
मन्त्री किरातीले अव ढिलो नगरी ठूला ठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए ।
हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उनले समय भन्दा ठूलो केही नभएको जिकिर गरे । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा मन्त्री किरातीले बाहिङ-नेपाली-अग्रेजी शब्दकोश विमोचन गरेका थिए ।