काठमाडौँ । देश संकटतर्फ धकेलिएको भन्दै एमालेले विशेष प्रस्ताव पारित गर्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी आवश्यक भएको जनाएको छ ।
दुई दिनसम्म केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको एमालेको बैठकले देश राजनीतिक, आर्थिक, सामाजिक संकटतर्फ उन्मुख भएको भन्दै एमालेले प्रमुख दलबीच न्यूनतम समझदारीको अपिल गरेको हो ।
बैठकले १६ बुँदे अन्य प्रस्ताव पारित पनि गरेको छ । जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन, माओवादी शिविरमा भएको घोटालाको अनुसन्धानसहितको माग गरिएको छ ।
एमालेले पूर्वी नेपालका जिल्लामा अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणको भर्त्सना गर्दै सरकार घटनामा मुकदर्शक बनेको आरोप लगाएको छ । साथै यस्तो हर्कत नदोहोर्याउन चेतावनी दिएको छ ।