काठमाडौँ । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ।
२०६२/६३ को जनआन्दोलनमा घाइते भइ गत वैशाख २८ गते निधन भएका काभ्रेका कायस्थलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको हो।
जनआन्दोलनमा घाइते भइ निधन भएका कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
त्यसैगरी, बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्वीजरल्याण्डको जेनेभामा यही जेठ ७ गतेदेखि सुरु हुने ७६ औँ वर्ल्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्विकृती पनि प्रदान गरेको छ।
जेठ १६ गतेसम्म हुने सो सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटा पनि सहभागी हुने मन्त्री शर्माले बताइन्।
त्यसैगरी सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण (सिंगापुर), संगीता सिंह (काठमाडौं), प्राध्यापक पुष्करमान बज्राचार्य (काठमाडौं), प्राध्यापक सुजान फ्राटियार (क्यानडा), प्राध्यापक नामपेर (अमेरिका), प्राध्यापक सुर्दशनराज तिवारी (काठमाडौं), पदम ज्योति (काठमाडौं), लोचन ज्ञवाली (ललितपुर), डा. सन्दुक रुइत (काठमाडौं) र भानुप्रसाद आचार्य (भक्तपुर)लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्वीकृति दिने निर्णय पनि भएको छ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिब १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन्।
मन्त्रिपरिषद् बैठकले बुटवल–गोरुसिंङ्गे–चन्द्रोटा सडकको विस्तारित सडक सीमाभित्रका घर, टहरा हटाइ क्षतिपूर्ति दिने तथा सो प्रयोजनका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडकखण्डको सडक योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्नका लागि स्वीकृती प्रदान पनि गरेको छ।