काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
सर्वोच्च अदालतले गत वर्ष यथास्थितिमै सो विमानस्थल निर्माण अगाडि नबढाउन आदेश दिए पनि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, रुख कटान, नदी नियन्त्रणलगायतका प्रारम्भिक काम भइरहेको छ ।
सो विमानस्थल निर्माणका लागि जम्मा ११० बिघा जग्गा आवश्यक पर्ने भएकामा अहिलेसम्म ७० बिघाभन्दा बढी जग्गा अधिग्रहण भइसकेको निजगढ विमानस्थल आयोजना प्रमुख विजयकुमार यादवले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडैलले आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने घोषणा गरे।