काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान)को चुनाव अझै अनिश्चित बनेको छ । नयाँ कार्य समितिका लागि चुनाव हुनुपर्ने भएता पनि अहिले सम्म ईक्यानको चुनाव नहुँदा शैक्षिक परामर्श सङ्घमाथि प्रश्न उठ्ने गरेको छ ।
ईक्यानका उपाध्यक्ष शेषराज भट्टराइले ईक्यानका अध्यक्ष प्रकाश पाण्डे केही महिना यता क्यानडाको भ्रमणमा रहेकाले र पछिल्लो समय कोभिडका कारणले पनि ईक्यानको चुनाव हुन नसकेको बताए ।
‘विगत दुई तीन वर्ष कोरोनाले नराम्ररी प्रभावित बनायो । त्यो वेला चुनाव गर्न सक्ने वातावरण नै मिलेन,उनले भने,‘अध्यक्ष ज्यू पनि क्यानडामा हुनुहुन्थ्यो । आज मात्रै उहाँ नेपाल आइपुग्नुहुन्छ । उहाँ आउने बित्तिकै कार्य समितिको बैठक बस्छ र त्यसपछि चुनावको निर्णय लिन सकिन्छ । जति चाँडो हामी चुनाव गराउने पक्षमा लागिरहेका छौँ ।’
नयाँ कार्य समितिको लागि सर्वसम्मतको प्रयास भइरहेको र अहिले सम्म नभएकाले चुनाव लम्बिएको बुझिएको छ । स्रोतले भन्यो,‘नेपालको सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको ईक्यानको पछिल्लो गतिविधिले गर्दा संस्थाप्रति चिन्ता व्यक्त गर्नु स्वाभाविक हो । त्यस कारण सही समयमा यसको चुनाव हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
संस्थाले कुनै फलदायी कार्यक्रम ल्याई चाँडो भन्दा चाँडो चुनाव हुनुपर्नेमा धेरैको जोड छ । यसबारे थप बुझनको लागि इक्यानका पुर्व अध्यक्ष विष्णु हरि पाण्डेलाई फोन गर्दा उठेन ।