काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो।
भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए भने उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुने गरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको आवश्यक सहयोग हुने बताएका थिए।
उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको भेटमा सहभागी गृहसचिव दिनेश भट्टराईले जानकारी दिए।