काठमाडौं । सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिन नसकेको भन्दै सात दिनभित्र चयन गर्न निर्देशन दिएका हुन् ।
संसदीय समितिको नेतृत्वबारे दलहरूको ध्यानाकर्षण गराउँदै उनले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भए पनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको जानकारी गराएका हुन् ।
‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिएको छैन । तपाईँहरूले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’
गत १९ चैतमा प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए ।