विराटनगर । अत्यधिक गर्मीका कारण कोशी प्रदेशका दुई तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।
केहीदिन देखि पूर्वी तराईको मौसरम दैनिक सरदर ४० डिग्री तापक्रम कायम रहेकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकासहित सुनसरीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार यो वर्ष वैशाखमा सबैभन्दा बढी ४० दशमलव ५ डिग्री सेल्सियस तापक्रम थियो । कार्यालय प्रमुख विकास देउजाका अनुसार जेठमा दैनिक सरदर ३९ डिग्री सेल्सियस तापक्रम छ ।
प्रचण्ड गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्थिति देखिएकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई भने यथावत राखेको छ ।
त्यसैगरी, इटहरी उपमहानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सूर्य सुवेदीले बताए । बर्खे बिदामा समायोजन गर्ने गरी दुई दिन विद्यालय बिदा गरिएको हो । सुनसरीकै इनरुवा नगरपालिकाले भने बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ ।