काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भनी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको अभियोग लागेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यबाट नै षड्यन्त्र रचिएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोलकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन निजोजित रूपमा राज्यले रचेको षड्यन्त्र हो ।’
खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित तथा जाहेरीकर्तालाई नचिनेको पनि बताएका छन् । उक्त प्रकरणमा आफ्नै कहीँकतै संलग्नता नरहेको जिकिर गरेका खाँणले प्रतिवेदन फेरबदलमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।