काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलहरूको नाराबाजीका कारण आइतबार संसद बैठक चल्न सकेन।
बैठक सुरू हुनासाथ एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका सांसदले उठेर विरोध जनाएका थिए।सभामुख देवराज घिमिरेले तीन वटा दलबाट एक-एक जनालाई बोल्न दिएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएका कुराकानीका विषय आपत्ति जनाउँदै उनीहरूले संसद अवरोध गरेका हुन्।
केही समयसम्म प्रतिपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले १ घन्टाका लागि बैठक स्थगित गरेका हुन्।