काठमाडौं । मध्यराति म्यासेज र फोन गरेर आफूलाई हैरानी बनाएको भन्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध सञ्चार मन्त्रालय र साइबर ब्युरोमा उजुरी परेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काठमाडौंस्थित एक अनलाइनकी पत्रकारले उजुरी दिएकी छन् ।
सञ्चार मन्त्रालयको उजुरीमा भनिएको छ, “मिति २०८० जेठ १५ गते मध्यराति ११ः२६बजे मेरो फेसबुकको म्यासेन्जरबाट बारम्बार अनावश्यक म्यासेज र कल गरेर भेट्ने प्रस्ताव गरी ममाथि हिंसाजन्य क्रियाकलाप भएको थियो । निज बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको प्रेस काउन्सिल नेपालका अध्यक्ष हुन् । जिम्मेवार निकायका प्रमुखबाट भएको अनावश्यकरुपमा असम्बन्धित व्यक्तिलाई मध्यरातमा फोन तथा म्यासेज गरी भेट्ने प्रस्ताव गर्ने खालको व्यवहारबाट मैले आफूमाथि हिंसा भएको महसुस गरेकी छु ।”
उनले यस किसिमको क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि आफू कार्यरत सञ्चार संस्थाका प्रमुखलगायतसँग फोन गरेर उजुरी फिर्ता लिन दबाब दिने र टर्चर दिने काम गरिरहेकाले सुरक्षाको माग गरेकी छन् ।उनले बस्नेतमाथि हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।
उनले प्रहरीको साइबर ब्यूरोमा पनि सोही व्यहोरोको उजुरी दिएकी छन् । बस्नेतले भने ती पत्रकारले सामाजिक सञ्जालमा लेखेपछि आफ्नो फेसबुक ह्याक भएको बताएका थिए ।