काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सिट भएको जनमत पार्टीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । संसद्मा प्रस्तुत बजेट पारित भएलगत्तै जनमतलाई भनेअनुसार मन्त्रालय दिएर सरकारमा फर्काउने दाहालको तयारी छ ।
मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारसँग माओवादी र जनमतको खटपट परिरहेका बेला दाहालले जनमतलाई संघीय सरकारमा ल्याउन खोजेका हुन् । पुसमा अब्दुल खानलाई खानेपानीमन्त्री बनाएर सरकारमा सहभागी जनमत अर्को पटक मन्त्रिपरिषद् विस्तारमा उद्योग मन्त्रालय नपाएपछि बाहिरिएको थियो ।
हाल माओवादीले पाएका मन्त्रालयबाट कुनै एक वा कांग्रेसले पाएको मन्त्रालय साटफेर गरी जनमतलाई दिने तयारी छ । सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले सकेसम्म सबै दललाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको नीति भएको उल्लेख गर्दै जनमतलाई मन्त्रालय छुट्याइने बताइन् ।
जनमतले माग गरेको उद्योग मन्त्रालय कांग्रेसको भागमा परेकाले माओवादीले जनमतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमध्ये एक दिन सक्ने सम्भावना छ । पर्यटनमा सुदन किराती र संघीय मामिलामा अमनलाल मोदी मन्त्री छन् ।
आफ्नो भारत भ्रमणका विषयमा असन्तुष्टि जनाएको भन्दै किरातीसँग प्रधानमन्त्री दाहाल चिढिएका छन् ।जनमत अध्यक्ष सीके राउतले सरकारमा जाने बाटो खुलै रहेको बताए ।