काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा उनी शनिबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
पशुपति मुल पुजारी रावल गणेश भट्टले मन्दिरमा हुने पूजा प्रक्रियाबारे दाहाललाई जानकारी गराएका थिए । भट्टले उनी र अरु मन्त्रीहरुलाई रुद्राक्षसहित फूलको माला र टीका लगाएर स्वागत गरे । यसअघि उनी पशुपतिनाथमा औपचारिक दर्शनका लागि गएका थिएनन् ।
दाहालले पुशपतिको दर्शनपछि ५१ हजार रुपैयाँ भेटी चढाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत सहभागी थिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गरेर पूजा प्रक्रियाबारे जानकारी लिएको बताए । २०६५ मा पहिलो पटक दाहाल प्रधानमन्त्री हुँदा पशुपतिनाथको मूल पुजारी नेपाली नियुक्ति गर्दा ठूलो विवाद भएको थियो । त्यसको केही समयपछि त्यो निर्णय उल्टिएको थियो । एकसाता अघि भारत भ्रमणका क्रममा उनले उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन र पूजा गरेका थिए । कम्युनिष्ट नेताको रुपमा महाकालेश्वरमा गेरुवस्त्र लगाएर पूजा गरेपछि उनको आलोचना भएको थियो ।
२०७७ माघ ११ मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथमा विशेष पूजा गरेका थिए । त्यसबेला उनले शान्ति र राष्ट्र संकल्पसहित एक लाख दीप प्रज्ज्वलन गरेका थिए ।
त्यतिबेला पशुपतिनाथको दर्शन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । जलहरी फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । यो जलहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।