काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नियमित खोप कार्यक्रमलाई सुदृढ बनाउन ध्यान दिन आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै डब्लूएचओले दक्षिण एसियाली देशहरूमा खोप नपाएका बालबालिकाहरू बढ्दै गएकाले नियमित खोप कार्यक्रमलाई ध्यान दिनुपर्ने बताएको हो ।
डब्लूएचओका अनुसार सन् २०२१ झन्डै ४६ लाख बालबालिकाले जीवन बचाउने खोप शून्य डोज पनि नपाएको रिपार्ट सार्वजनिक भएको छ । डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन्‚ ‘देशहरूले नियमित खोप कार्यक्रमलाई कायम राख्न वा पुनःस्थापना गर्ने प्रयास गरे पनि खोप नपाएका बालबालिकाको संख्या २०१९ मा २० लाखबाट दोब्बरले बढेर २०२१ सम्ममा ४६ लाख पुगेको छ ।’
उनले कोभिड-१९ महामारीले बनाएको खाडल र चुनौतीहरूलाई तुरुन्तै सम्बोधन गर्न आवश्यक रहेको बताइन् । ‘हामीले जोखिम क्षेत्रमा रहेका र उच्च संख्यामा कुनै पनि खोप नलगाएका (शून्य डोज) बालबालिकाको सही रूपमा पहिचान गर्न आवश्यक छ र नियमित खोपको पहुँच र खपतलाई द्रूत रूपमा सुधार गर्न आवश्यक छ,’ डा. सिंहले भनिन् ।
उनले खोपको कभरेज बढाउन सञ्चालन गरिएको विभिन्न अभियानले पनि सहयोग पुग्न सक्ने भन्दै जनसंख्याको आवधिक नक्सांकन र खोपमा रहेको कमीलाई सम्बोधन गर्न योजनाहरू विकास गर्नुपर्ने बताइन् ।
नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् ।