मोरङ । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ०८०/८१ को प्रदेशको बजेट सार्वजनिक गरेको छ। विराटनगरस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएको बजेटमा चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार छ।
त्यसैगरी, स्रोततर्फ राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार छ। मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ।
सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन भएको छ। त्यसैगरि, सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ।
खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन भएको छ।शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्टयाइएको छ। वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ।
कोशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० करोड बजेट विनियोजन। चालु बजेट ८५ प्रतिशत खर्च हुने अनुमान कोसी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ।
चालु वर्ष ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ भने ३९ अर्ब ७३ करोड बजेटको यथार्थ प्राप्ति भने ३३ अर्ब ७ करोड हुने अनुमान गरिएको छ।
अध्यादेशबाट ल्याएको बजेटमा विपक्षी दलहरू अनुपस्थित थिए। बजेट सार्वजनिक कार्यक्रम विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले बहिष्कार गरेका थिए।
विपक्षी दलले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएर संविधानविपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन्।